सशस्त्र प्रहरीको ठुलो सक्रियता : एक वर्षमा ६ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद

सुनसरी।सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८१।८२ मा ६ करोड ९० लाख ३९२ रुपैयाँ बराबरको भन्सार छली तथा बिलबिजकविहीन अवैध सामानहरू बरामद गरेको छ।

गणअन्तर्गत रहेका विभिन्न सुरक्षा पोस्ट तथा बोर्डर आउट पोस्टहरूले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्दै अवैध ओसारपसार नियन्त्रणमा उल्लेख्य सफलता हात पारेका हुन्।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले बरामद गरिएका सामानहरू सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिए।

त्यस्तै, उक्त अवधिमा १८ लाख ७५ हजार १३५ मूल्य बराबरका बिलबिजक नभएका अन्य सामग्रीहरू बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

साथै, भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न रहेका ६४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको पनि प्रहरीले स्पष्ट पारेको छ।सशस्त्र प्रहरी बलले पूर्वी नाकामार्फत हुने अवैध गतिविधि, भन्सार छली, लागूऔषध तस्करी तथा ओसारपसार नियन्त्रणमा सघन निगरानी र परिचालनलाई तीव्र बनाएको जनाएको छ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तथा गण प्रवक्ता सुधीरजंग थापाका अनुसार, संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सीमा सुरक्षालाई प्रभावकारी बनाइएको हो।

उनले स्रोत, साधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोग गर्दै अपराध नियन्त्रणलाई अझ मजबुत बनाइने जनाए।
स्थानीय समुदायसँगको समन्वय र सूचना साझेदारीलाई पनि सशक्त बनाउँदै, सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा हुने अपराध र अवैध गतिविधिमा सुनियोजित र निरन्तर कारबाही जारी राख्ने जनाएको छ।