
इनरुवा, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा सुनसरीको इनरुवामा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
विहीबार १८ औँ गणतन्त्र दिवसका अवसरमा सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रम गरिएको हो । गणतन्त्र दिवस जिल्ला समारोह समिति सुनसरीको आयोजनामा निजामती कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा भव्य प्रभातफेरी कार्यक्रम गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीदेखि सुरु भएको प्रभातफेरी ¥याली इनरुवा बजारको परिक्रममा गर्दै जिल्ला समन्वय समितिमा पुगेर समापन गरिएको थियो ।
प्रभातफेरीपछि जिल्ला समन्वय समिति इनरुवामा झण्डोतोलन सहित आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको समृद्धिका लागि राजनीतिक प्रतिवद्धता कार्यान्वय गर्न जरुरी रहेको बताउनुभयो ।
गणतन्त्रलाई संस्थागत गर्नका लागि सबैमा आपसी सदभाव,एकता र भाईचाराको आवश्यक रहेको मेहताले बताउनुभयो । उहाँले देशमा विकास र परिवर्तनका लागि २०६२–०६३ सालमा राजनीतिक दलहरुका विचमा भएको एकता अहिलेको व्यवस्था कार्यान्वयनसँगै देशको समृद्धिका लागि पनि हुनुपर्ने बताउनुभयो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि जनताले अपेक्षा अनुसारको परिवर्तनको पूर्ण महसुस गर्न नपाउँदा केही निरासाहरु र वितृष्णा जागेको भन्दै त्यसको अन्त्य गर्ने गरी देशको समृद्धिका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारहरू प्रतिवद्ध भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
विहीबार गणतन्त्र दिवसका अवसरमा सदरमुकाम इनरुवामा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, स्थानीय तहका प्रतिनिधिहरु, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।
यसैबीच इनरुवा नगरपालिकाले समेत विहान छुट्टै प्रभातफेरी कार्यक्रम गरेको छ । इनरुवा नगरपालिका कार्यालयबाट महानन्द पार्कसम्म प्रभातफेरी र त्यसपछि पार्कमा झण्डोतोलन सहित नगरपरिक्रमा गरिएको छ ।
गणतन्त्र दिवसमा निकालिएको प्रभातफेरीमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, बुद्धिजिवि, नागरिक समाज, विधार्थी, कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, संघसंस्था र राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी हुनुभएको थियो ।नगरपरिक्रमा पछि इनरुवा नगरपालिका कार्यालयमा पनि झण्डोतोलन गरेको थियो ।
नगरपरिक्रमा र प्रभातफेरी कार्यक्रम पछि कोण सभा गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख केदार भण्डारीले गणतन्त्र नेपालीहरुको चाहना, आवश्यकता र विकास अनि समृद्धिका लागि भएकाले यसको संस्थागत गर्न जरुरी रहेको बताउनुभयो ।
दिवसको अवसरमा उपप्रमुख विनिता कुमारी मेहताले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक व्यवस्थाले जनतालाई अधिकार सम्पन्न बनाएको छ,तर आर्थिक रूपमा सम्पन्न बनाउन नसक्दा जनतामा निराशा देखिन्छ,त्यसको अन्त्यका लागि राजनीतिक प्रतिवद्धता र एकतासँगै तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।”
विकासमा पारदर्शिता, जवाफदेहिता र विधि शासन इमान्दारिपूर्वक गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । मेहताले “गणतन्त्र दिवसमा प्रभातफेरी , अन्तरकृया मात्रै गरेर नहुने भएकाले त्यसमा गणतन्त्रको सार जनताको सुखद जीवन हो”।
उता विभिन्न स्थानीय तहहरुले समेत दिवशको अवसरमा विभिन्न कार्यक्रम गरेको जनाएको छ ।