
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले आफ्नो १८ औँ स्थापना दिवस मनाएको छ ।
सशस्त्रले मंगलवार इनरुवा नगरपालिका-४ स्थित आफ्नो जिल्ला कार्यालय परिसरमा १८ औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका व्यक्ति तथा प्रतियोगिताका खेलाडीलाई सम्मान र पुरस्कार वितरण गरेको छ ।
यहाँ आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्याैपानेले सशस्त्र प्रहरी देश,जनता र सीमा सुरक्षा प्रति प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले सम्बाेधनका क्रममा नागरिकको सुरक्षा सहित राजस्व चुहावटमा नियन्त्रण गर्न समेत याेगदान गरेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाकाे अध्यक्षतामा मनाईएकाे दिवस समारोहमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, राष्ट्रिय अनुसन्धान विभाग, सुनसरीका प्रमुख तुलसी कट्टेल, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाँ लगायत सरकारी तथा विभिन्न निकायका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले दिनुभएको जानकारी अनुसार नेपाल सरकार मन्त्री परिषद्को २०६३ फागुन ८ गतेको निर्णयले २०६४ जेठ १४ गतेबाट स्थापना भएको १७ वर्ष पुरा भएको छ ।
सुनसरीकाे इनरुवा नगरपालिका ४ मा पाँच बिगाहा बाह कठ्ठा साढे चौध घुर क्षेत्रफल भएको जग्गा अस्थायी भोगाधिकारको स्वीकृति र २०६५ मंसिर २५ गतेको मन्त्रिपरिषद्को निर्णयले स्थायी रुपमा भोगाधिकारको स्वीकृति भई जग्गाको लालपुर्जा समेत प्राप्त स्थायी रुपमा स्थानान्तरण भई कार्य संचालन गर्दै आईरहेको जनाएको छ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेद अनुसार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालयलाई समायोजन गरी जिल्लाको सम्पूर्ण शान्ति सुरक्षाको जिम्मेवारी हेर्ने गरी सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीको विधिवत रुपमा स्थापना भएको हो ।
स्थापना कालदेखि नै यस कार्यालयले नेपाल भारत सीमा ईलाकामा सिमा सुरक्षा व्यवस्थापन तर्फ डेडिकेटेट फोर्सको रुपमा तैनाथि भई कार्य गर्दै आईरहेको छ।
हाल यस गण मातहतमा प्रस्तावित सीमा सुरक्षा गुल्महरु दुई वटा,वि.ओ.पिहरु ९ वटा र सुरक्षा वेशहरु ६ वटा गरी जम्मा १७ इकाईहरुले सीमा सुरक्षा व्यवस्थापन तथा समग्र जिल्लाको शान्ति सुरक्षा तथा अमनचयन कायम गरिरहेका छन् ।
गणको १८ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरु खेलकुद प्रतियोगिता भलिबल, टेवल टेनिस,व्यवसायीक प्रतियोगिता २ माईल दौड, हतियार ह्यान्डिलिङ्ग र हाजिरी जवाफ प्रतियोगिता तथा सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी प्रस्तुतीकरण नजिक बिद्यालय वा समुदायमा लक्षित गरी गरेकोमा उत्कृष्टलाई पुरस्कार तथा सम्मान गरेको छ ।
साेही अवसरमा भूतपूर्व सशस्त्र प्रहरीहरुसंग अन्तरक्रिया, रक्तदान र बृक्षारोपण कार्यक्रम पनि गरेको थियो ।
दिवसको अवसरमा धार्मिक तथा सांस्कृतिक स्थल सरसफाई गरेको छ भने जेठ १५ गते दिपावली गर्ने भएको जनाएको छ ।