
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय, सुनसरीको निरीक्षण गर्नुभएको छ। निरीक्षण क्रममा डिआईजी कार्कीले कार्यालय अन्तर्गतका विभिन्न शाखाहरू, हिरासत कक्षलगायत सम्पूर्ण संरचनाको अवलोकन गर्नुका साथै वातावरण संरक्षणको सन्देशसहित कार्यालय परिसरमा वृक्षारोपण पनि गर्नुभएको छ।
निरीक्षण भ्रमणपछिको समिक्षात्मक बैठकमा प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालयका अधिकृतहरू, मातहत इकाइ प्रमुखहरू र प्रहरी कर्मचारीहरूसँग छलफल गर्दै सेवा प्रवाहमा सुधार ल्याउन, नागरिकमैत्री र पीडितमैत्री दृष्टिकोणबाट कार्य गर्न निर्देशन दिनुभएको छ।
उहाँले प्रहरी संगठनले आम नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै, “प्रहरीको व्यवहार, सोच र कार्यशैली अनुशासित, सकारात्मक, पारदर्शी र नैतिक हुनु पर्दछ,” भन्नुभयो। उहाँले कुनै पनि प्रकारको आर्थिक प्रलोभनमा नफसी शून्य सहनशीलता नीतिमा रहेर व्यवसायिक प्रहरीको भूमिकामा क्रियाशील हुन सबैलाई निर्देशन दिनुभयो।
डिआईजी कार्कीले दिनप्रतिदिनको कामलाई व्यवस्थित र अभिलेखिक बनाउन जोड दिँदै निम्न बुँदाहरूमा विशेष ध्यान दिन सुझाव दिनुभयो :
जिम्मेवार क्षेत्रहरूमा प्रभावकारी प्रहरी परिचालन गरी शान्ति सुरक्षा सुदृढ बनाउने।
पेंडिङ मुद्दाहरूको शीघ्र अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने।
सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न थप सक्रियता देखाउने।
लागूऔषधको दुरुपयोग तथा ओसारपसारमा पूर्ण नियन्त्रण।
फरार प्रतिवादीको खोजतलास र पक्राउ अभियानलाई तीव्रता दिने।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेकिङ, मापसे नियन्त्रण र सचेतना कार्यक्रमलाई सशक्त बनाउने।
सामाजिक अज्ञानताबाट हुने अपराध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।
वर्षायाममा सम्भावित विपद् व्यवस्थापन र तत्काल उद्धार कार्यका लागि आवश्यक तयारी अवस्थामा रहनु।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाले प्रमुख अतिथि डिआईजी कार्कीलाई जिल्लाको हालको शान्ति सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, भविष्यका योजना तथा सामना गरिरहनु परेका प्रमुख चुनौतीहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।