
इनरुवा, जेठ ७ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ ।
देवानगञ्ज गाउँपालिकाको सहयोग तथा जजन्युज मिडिया प्रालि सुनसरीको आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालित तालिम बुधबार सुरु भएको हो ।
तालिम गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवको अध्यक्षता र गाउँपालिकाका ३ नम्बर अध्यक्ष अनिल कुमार भगतको प्रमुख आतिथ्यतामा उदघाटन सत्र सम्पन्न भई तालिम सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष यादवले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।
न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत यादवले बताउनुभयो । यादवले गाउँपालिकाको १, २ , ४ र ४ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना भएको र बाँकीमा थप भएका मेलमिलापकर्ताहरूलाई समेटिएर ५, ६ र ७ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने योजनामा रहेको बताउनुभयो ।
उहाँले गाउँमा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा थप आधारभूत तालिम र समिति तथा मेलमिलापकर्ताहरुको पक्षमा काम गर्दै आएकाहरूको लागि पुनर्ताजगीको व्यवस्थापन गर्न गाउँपालिका कार्यपालिका र गाउँसभासंग समन्वय गर्ने बताउनुभयो ।
प्रमुख अतिथि तथा गाउँपालिका ३ का वडा अध्यक्ष अनिल भगतले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न, वडामा मेलमिलाप केन्द्र स्थापना तथा न्यायिक समितिका लागि बजेट विनियोजन गर्ने बताउनुभयो ।
उहाँले मेलमिलापकर्ताहरू गाउँको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको पक्षमा गाउँपालिकाले काम गर्ने बताउनुभयो । त्यस अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट रेखा सरदार र महानन्द मेहता सहितले बोल्नुभएको थियो ।
दुई समूहमा २५।२५ जना गरी ५० जना सहभागी भएको तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता शुकदेव चौधरी , इन्सेकका प्रतिििनधि तथा सुनसरी जिल्ला अदालतमा सूचिकृत मेलमिलापकर्ता जयकृष्ण यादव हुनुहुन्छ ।
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रशिक्षकहरूले सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू, वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएका थियो ।
मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रशासन र अदालतको काम लगायत विषयमा जानकारी गराइएको थियो । विहीबार समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिने र पुनर्ताजतीको समिक्षा समेत गरिने जनाएको छ ।