
भन्टाबारी। सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित भीमनगर भन्टाबारी बोर्डर तीन कुने नजिक नक्कली नोटसहित दुई जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको कमाण्डमा ४ जना खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ निवासी २६ वर्षीय राजेश कुमार रजक र हनुमान–१ निवासी २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ एक हजार दरका ३८ थान नक्कली नोट बरामद भएको छ ।नक्कली नोटसहित मोटरसाइकल समेत नियन्त्रणमा लिई दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जनाएको छ ।