भारतीय एम्बुलेन्सबाट नेपाल प्रहरीले १८० केजी गाँजा बरामद गरेको छ 

सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ पिडारीस्थित क्षेत्रमा प्रहरीको संयुक्त टोलीले एक भारतीय नम्बरको एम्बुलेन्सबाट १८० केजी लागू औषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ईटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त टोलीले राति १० बजे उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार BR38P5414 नम्बरको भारतीय एम्बुलेन्सलाई चेक जाँच गर्दा कालो प्लास्टिकमा सेतो बोरा भित्र राखिएको अवस्थामा तिस तिस केजीको ६ वटा बोरा फेला परेका थिए,।

जसमा जम्मा १८० केजी गाँजा जस्तो देखिने लागू औषध थियो।उक्त एम्बुलेन्सका चालक सुनसरी बराहक्षेत्र नगरपालिका–४ निवासी २५ वर्षीय श्रीराज कुमार साहलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जानकारी दिए।