सशस्त्र प्रहरीले ७ सय ८३ किलोग्राम गाँजा बरामद गरेको छ

सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त सुरक्षा फौजले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।

धरान उप महानगरपालिका–१३  निशाने डाँडा स्थित कोशी लोकमार्गमा  भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शङ्का लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा र  ना ७ ख २८१ लेखिएको   नम्बर प्लेट फेला परेको थियो ।

ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजासहितको  ट्रक, चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षका  मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई गाँजा र ट्रकसहित  आवश्यक कारबाहीको लागि बुधवार राति  जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी निर्मल थापाले जानकारी दिए