इनरुवामा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती सुरु 

सुनसरीको इनरुवामा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन भएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीको आयोजनामा सुरु भएको दुई दिवसीय अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको सोमबार कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाचकर्ण राईले उद्घाटन गर्नुभएको हो ।

कुस्तीको उद्घाटन गर्नुहुँदै मन्त्री राईले खेलकुदले देश विदेशमा आपसी सदभाव जोड्ने र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पनि उपयोगी रहेको बताउनुभयो ।

उहाँले कुस्तीबाट मनोरञ्जन समेत हुने र लोपोन्मुख अवस्थामा पुगेको कुस्तीको खेल नयाँ पुस्तालाई देखाउन समेत सार्थक भएको बताउनुभयो ।

सोमबार उद्घाटन भएको कुस्तीमा नेपाल र भारतका गरी ४४ कुस्ती खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जेठ २० गते मङ्गलवारसम्म हुने दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्तीमा भारतबाट जावेद गनी(कश्मीर), हरीओम बाबा (बनारस ),लाडी बाबा (हरीद्वार ),फकिर बाबा,सैतान सिंह बङ्गाल,बाहुवली पन्जाब टिम सहित भारतीय खेलाडी र पारस थापा,वसन्त थापा,सदिप राना, मेवा थापा लगायतका चर्चित खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सुनसरी बहुमुखी क्याम्पस इनरुवा ४ को खेल मैदानमा सुरु भएको खेलको पहिलो दिन १० टिममा २० खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

आयोजक नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीका अध्यक्ष चिनेश्वर मेहताको अध्यक्षतामा कुस्ती सुरु भएको सङ्गठनका सचिव उमेश गौतमले जानकारी दिनुभयो ।