
भण्टाबारी। सिमा नाकामा सशस्त्र प्रहरीले सहायता कक्ष अर्थात् हेल्प डेस्क सञ्चालनगरेको छ ।
मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै सहज र सुरक्षित आवागमनका लागि सीमा नाकामा सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनसरी मा चार मध्ये २ वटा स्थापना भइसकेको र अन्य २ वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
चाडपर्वका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने नागरिकलाई सहज र सुरक्षित ढङ्गबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने उदेश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष राखिएको उहाँको भनाइ छ ।
सुरक्षासँगै, सीमा क्षेत्रमा हुने अबैध गतिविधि, चोरीडकैती, लुटपाट जस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क महत्वपूर्ण हुने अपेक्षा गरिएको भण्टाटाबारीका डिएसपी केदार जंग थापाले बताउनुभयो ।
उहाँका अनुसार सुनसरी जिल्लाको भण्टाबारी, लौकही कप्तानगणज, साहेबगंज गरी ४ ठाउँमा पर्यटक सहायता कक्ष स्थापना गर्ने तयारी छ।