डल (गुड़िया) भित्र प्याक गरिएको करीब १०.९४ किलोग्राम गाँजा बरामद

इनरुवा ,भदौ ६ ।सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले विशेष सूचनाको आधारमा लागू औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ ६:३० बजे हरिपुरस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग १ ख २१८७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा डिक्कीभित्र लुकाइएको अवस्थामा ७ वटा डल (गुड़िया) भित्र प्याक गरिएको करीब १०.९४ किलोग्राम गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार सो लागू औषध जिल्ला धनकुटा, सहिदभूमि गाउँपालिका–७ निवासी ५० वर्षीय रुद्र बहादुर राईको भएको पुष्टि भएको छ। उनी बसमा यात्रुका रूपमा सवार थिए।

प्रहरीले राईलाई गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।