
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लोैैकहीमा भारतीय नम्बरको गाडी र अवैध लागू औषधसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले दिएको जानकारी अनुसार भारतीय सीमाबाट नेपालतर्फ आउँदै गरेको BR50AA8367 नम्बरको मोटरसाइकलमा लागू औषध लिएर आइरहेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बीओपी लाैकहीबाट सशस्त्र प्रहरी हवल्दार दिपक श्रेष्ठको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकल गाडी र अवैध लागू औषधसहित एक जनालाई पक्राउ गरेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्लाको श्यामचन्द्रपुर–८ बस्ने ३५ वर्षीय गणेश शर्मा रहेका छन्। नियन्त्रणमा लिएको मोटरसाइकल र शंकास्पद व्यक्तिको खानतलासी गर्दा ६.४ ग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागू औषधसहित कालो प्लास्टिकको पोका फेला परेको हो।
यसैगरी प्रहरीले पक्राउ परेका शर्मासँग Samsung कम्पनीको मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका शर्मालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको प्रहरीले जनाएको छ।सशस्त्र प्रहरी बल बीओपी लाैकहीकाको सतर्कताका कारण सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणमा थप सफलता मिलेको सशस्त्र प्रहरी निरीक्षक निगम राईले बताए। ‘सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रण हाम्रो उच्च प्राथमिकतामा छ, यसै क्रममा निगरानी गर्दै पक्राउ गरिएको हो,’ निरीक्षक राईले भने।
प्रहरीले बरामद गरिएको लागू औषधसहितको मोटरसाइकल र पक्राउ परेका गणेश शर्मालाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।