सुनसरी जिल्लाको इनरुवामा तरुण दलको बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न

ईनरूवा। नेपाली कांग्रेस निकट तरुण दल इनरुवा नगर कार्यसमितिसुनसरीको आयोजनामा शनिबार इनरुवामा बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, इनरुवामा सम्पन्न कार्यक्रममा इनरुवा क्षेत्रका १ सय ३० जना युवाहरू औपचारिक रूपमा तरुण दलमा प्रवेश गरेका हुन्।

नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, समन्वय समिति सुनसरीका सभापति राजन मेहता लगायतका अतिथिहरूले अविर र खादा लगाएर स्वागत गरेका थिए।कार्यक्रमकाे अवसरमा तरुण दल इनरुवा नगर समितिका सभापति अर्विन केसीले इनरुवा–२ निवासी विवेक खतिवडालाई नगर उपसभापति पदमा मनोनीत गरेकाे तरुण दल सुनसरी क्षेत्र नं–४ का क्षेत्रीय सचिव सत्यनारायण यादवले दिए ।

कार्यक्रममा प्रमुख अतिथि राजीव कोइरालासँगै विशिष्ट अतिथिका रूपमा राजन मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, उपसभापति पंकज महतो, सचिव बिरेन्द्र साह लगायत नेताहरूको उपस्थिति रहेको थियो।

सभापति अर्विन केसीको अध्यक्षता र क्षेत्रीय सचिव सत्यनारायण यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी युवाहरूले संगठनप्रतिको आस्था व्यक्त गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।