इनरुवामा रथयात्राको तयारी 

सुनसरी । सुनसरीको इनरुवा सहित विभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी भएको छ । जिल्ला सदरमुकाम इनरुवामा राधाकृष्ण मन्दिरबाट रथ यात्रा निकालिने तयारी पुरा भएको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष केसरी अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार मन्दिरमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी भएको हो । इनरुवा ३ स्थित राधाकृष्ण मन्दिरबाट ३० हजार बढी नागरिकको सहभागितामा रथ यात्रा निकालिने तयारी पुरा भएको आयोजक समिति तथा मन्दिर समितिका सचिव सुनोज निरौलले जानकारी दिनुभयो ।

इनरुवाको राधाकृष्ण मन्दिरबाट आईतबार भदौ १ गते दिउसो अढाई बजे निकालिने रथ यात्रा १० स्थानमा रोकिदै नगरपरिक्रमा गर्ने तयारी भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राको भव्य तयारी भएको र स्थानीयहरुलाई घरघरमा तथा घरको अगाडि कलस राख्नका लागि आग्रह गरिएको निरौलाले जानकारी दिनुभयो ।

गत वर्ष५० हजार बढीको सहभागीता रहेकोमा यस वर्ष मौसमका कारणले ३० हजारसम्म सहभागी हुने र रुट इनरुवा ३ राधाकृष्ण मन्दिर, महेन्द्रचौक, सरकारी वकिल कार्यालय, मालपोत हुदै सखुवागाछी, जिल्ला अदालत, सोमबारे हाटबाट पश्चिम कृषि कार्यालय, शान्तीचौक, गोलचौक, प्रहरी कार्यालय , बसचौक हुदै पुनः इनरुवा ३ स्थित राधाकृष्ण मन्दिरमा पुगी समापन हुने जनाएको छ ।