
इनरुवा , साउन २० गते। सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीको टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–४ जुदगंज निवासी ३४ वर्षीय मनोज कुमार खत्वे र भारत बिहार राज्यको अररिया जिल्लास्थित बस्मतिया पञ्चायत–८ निवासी ४५ वर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले मनोजको साथबाट स्रोत नखुलेको नगद रु २,५६,००० (दुई लाख छपन्न हजार) र राजकुमारको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध ८८.३८ ग्राम (अठासी ग्राम तीनसय असी मिलिग्राम) फेला पारेको जनाएको छ।
दुवैजनालाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। प्रहरीले लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान पनि तीव्र बनाएको जनाएको छ।