सशस्त्र प्रहरी र भारतीय एसएसबीको सीमामा संयुक्त गस्ती

मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो ।गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणपछि दुई देशबीच द्वन्द्व झन् चर्किएको हो ।

उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो । भारतको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको पाकिस्तानले जनाएको छ । त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ ।

यसैबीच दुई देशबीचको तनावको मौका छोपेर नेपाल-भारत सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ रोक्नका लागि सशस्त्र प्रहरी हाई अलर्टमा बसेको हो ।

सशस्त्र प्रहरी भन्टाबारीका डीएसपी केदार जंग थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रूमा गस्ती पट्रोल खबर आदान–प्रदानलाई तीव्रता दिएको जनाए ।

उनले भने, ‘एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।’

सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भन्टाबारी लाही श्रीपुर उल्टी र लौकहीका सीमा क्षेत्रको दश गज्जा ईलाकामा नियमित गस्ती गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको भन्टाबारीका डिएसपी केदार जंग थापाले बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई चेक जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरीका डिएसपी थापाले जानकारी दिए